एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई टाइब्रेकरमा पाखा लगाउँदै इटालीले युरोकप फुट्बल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा एक/ एक को बराबरी भएपछि भएको अतिरिक्त समयको ३० मिनेटको खेलमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डका ३ प्रहार विफल भएसँगै इटाली ३–२ ले विजयी भएको हो ।
पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।
टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।
तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।
प्रतिकृया