चितवन। चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । टेण्डर हालेका १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ । उनीहरू सबैको अब आर्थिक प्रस्ताव खोलिने महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।
‘प्राविधिक मूल्याङ्कनको काम सक्यौं, अब आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको छ,’ उपनिर्देशक अर्यालले भने, ‘७ दिनको समय दिएर सूचना जारी गरेर आर्थिक प्रस्ताव खोल्छौं ।’अर्यालले चालु आर्थिक वर्षको असार महिनाभित्रै रंगशालाको बाँकी काम अगाडि बढाउने गरी ठेकेदार कम्पनीसँग सम्झौता गर्ने तयारी गरिएको बताए । ‘हामीलाई यो रंगशाला छिटो बनाउनु छ, यो महानगरको सबैभन्दा महत्वपूर्ण परियोजना हो, राष्ट्रको गौरवको परियोजना पनि हो,’ उपनिर्देशक अर्यालले भने, ‘विगतमा जे जे भए, अब काम रोकिंदैन, अगाडि बढ्छ भन्नेमा महानगरपालिका दृढ छ ।’
उनले असारभित्रै छनोट हुने निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेसनसमेत दिएर काम अगाडि बढाउन लगाउने बताए ।रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोशन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेण्डर हालेका छन् ।
यसअघि ३० दिनको म्याद राखेर गत फागुन १७ गते आब्हान गरिएको टेण्डर विवादित भए पछि महानगरपालिकाले रद्द गरेको थियो ।
महानगरले गत जेठ ३ गते दोस्रोपटक पुनः टेण्डर आह्वान गरेको थियो । पहिलोपटक टेण्डर गर्दा एमए कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको थियो ।ठेक्काको मापदण्ड एकमात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो । महानगरले १ अर्व १० करोडको ठेक्का आह्वान हो ।
प्रतिकृया