दमक। बिवाईएससी अमेरिका झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । दमक–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा सोमबार सम्पन्न खेलमा शान्तिनगर एफसी सुनसरीलाई ५–० को बिशाल अन्तरमा पराजित गर्दै बिवाईएससी फाईनलमा प्रबेश गरेको हो ।
खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको बिवाईएससीले अग्रता भने ३२ औं मिनेटमा लिएको थियो । उसका जर्सी नम्बर ३० का रेने शान्तिल्लानले अग्रता दिलाएका थिए । त्यसको सात मिनेट पनि बित्न नपाउँदै पुनः रेनेले अग्रता दोब्बर बनाए । पहिलो हाफ सम्म दुई शुन्यको अग्रता लिएको उसले दोश्रो हाफमा झनै गोलको बर्षा गरेको थियो ।
दोश्रो हाफको छैटौं मिनेटमा उसका सुदिप तामाङ्गले दर्शनीय गोल गर्दै टोलिको अग्रता तीन शुन्यमा पुर्याए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै जर्सी नम्बर ७ का हेक्टर ओर्टेगाले प्रहार गरेको कडा प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि उसका लागि जर्सी नम्बर १५ का अनुज भट्टराईले गोल गर्दै बिवाईएससीको अग्रता पाँच शुन्यमा पुर्याएका थिए ।
खेलको म्यान अफ दि म्याच रेने भए । उनले नगद पाँच हजार हात पारे । जितसँगै बिवाईएससीले उपाधिका लागि सल्हेस युवा क्लबसँगको भेट पक्का गरेको छ । सल्हेसले यसअघि एभनिर एफसी क्यामरुनलाई एक शुन्यले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । फाईनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उप–विजेताले नगद तीन लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद पच्चिस हजार, सर्बाधिक गोलकर्ताले नगद दश हजार, विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ७ हजार हात पार्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।
प्रतिकृया