झापा/ इलामको चुलाचुली–६ कुइनेटारमा जारी दोश्रो कुइनेटार कप प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा जित हात पार्दै मोरङ्गको बेलबारी नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । अब उसले फाईनल प्रबेशका लागि झापाको कमल गाउँपालिकासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
बेलबारीले झापाको बाह्रदशी गाउँपालिकालाई २१–२५, २५–१९ र २५–१२ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । पहिलो सेट २५–२१ ले गुमाएको उसका लागि दोश्रो सेटदेखि प्रकाश राउत र रविन खत्री चम्किएका थिए । राउत र खत्री चम्किएसँगै बेलबारीले लगातार दुई सेटमा जित निकालेको थियो । त्यस्तै झापाको कमल गाउँपालिकाले मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामाथी सोझो सेटमा जित हात पारेको थियो । पहिलो सेटमा ४ अंकले पछि परेको अवस्थालाई उल्टाउँदै उसले खेल २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।
त्यसपछि दोश्रो सेटमा कप्तान सुमन राना मगर, सौजन कटेल र अमित धिमालले उत्कृष्ट प्रदर्शन गरेपछि दोश्रो सेटमा कमलले २५–१६ को शानदार जित निकाल्दै बेलबारीसँगको भेट पक्का गरेको थियो । त्यस्तै अर्को खेलमा इलामको चुलाचुली गाउँपालिकाले मोरङ्गको लेटाङ्ग नगरपालिकालाई २५–२३ र २५–१६ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । अब उसले फाइनल प्रबेशका लागि शनिबार मोरङ्गको उर्लाबारी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । उर्लाबारी भद्रपुर नगरपालिका अनुपस्थित भएपछि सिधैं सेमिफाइनलमा प्रबेश गरेको थियो ।
सेमिफाईनल र फाइनल खेल शनिबार नै हुनेछन् । पहिलो सेमिफाइनलमा कमल गाउँपालिका झापा र बेलबारी नगरपालिका मोरङ्ग आमने–सामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३० हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद २० हजार प्राप्त गर्नेछ । कुइनेटार पर्यटक खेलकुद समिति तथा तोरीबारी श्रृजनशील युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा प्रदेश १ का १० पालिकाको सहभागिता रहेको छ ।
प्रतिकृया