काठमाडौँ। आइसीसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत ओमान विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो। लिगमा ओमान २० अंकका साथ शीर्ष स्थानमा छ।
ओमानले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य नेपालले खेल सकिन १ सय ९० बल अगावै पुरा गरेको थियो। नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले ५२ र आसिफ शेखले ४० रनको योगदान दिए।
अविजित रहेका मल्लले ४६ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित ५२ रन जोडेका हुन्। त्यस्तै शेखले ४४ बलमा ७ चौका प्रहार गरेका थिए। ओपनर कुसल भुर्तेल र रोहित पौडेल समान ६ रनमा आउट भए।
यसअघि अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरु सामु टिक्न नसक्दा ३७ ओभर १ बलमा १ सय २१ रनमा समेटिएको थियो।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका संदिप लामिछानेले र करण केसीले समान ४ तथा शरद भेष्वाकरले २ विकेट लिए । जितसँगै नेपालले २ अंक प्राप्त गरेको छ। योसँगै नेपालको ८ खेलबाट ४ जित निकाल्दै ८ अंक भएको छ। नेपालसँग पराजय भोगेको ओमानको १३ खेलबाट १० जितसँगै २० अंक छ।
प्रतिकृया