काठमाडौं। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । खेल १–१ को बराबरीमा सकिएको हो । खेलको शुरुवातमै अग्रता लिएको नेपालले दोश्रो हाफमा लय गुमाउन पुग्दा बराबरीमै चित्त बुझाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अन्जन बिष्टको गोलबाट पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । चिनलेनाना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको फाइदा उठाउँदै अन्जनले गोल गरेका थिए । उनले गोलरक्षकलाई सन्धुलाई बिट गर्दै गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफमा एक शुन्यले पछि परेको भारतले ६०औं मिनेटमा बराबरी गोल गर्यो । उसका सब्सिच्युट खेलाडी अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
यी दुई टिमबीचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने छ ।
प्रतिकृया