अँ प्रशान्त ! तिमीले काखमा स्नेहकासाथ चुमेर उभ्याएकी त्यो सिडनी शहर म पनि पुगेँ, ट्रेनबाट लिफ्ट चढेर म बाहिर निस्के जमिनमा। कस्तो प्रविधि हो यो । म चढेको ट्रेनभित्र गुफामा रोकियो। बाहिर निस्कन म पाँच तलामाथि पुग्नुपर्यो मेरो गन्तव्य टाउनहलमा उत्रने, तर त्यहीँ तलाबाट पनि बाहिर निस्कने मार्ग रहेछ त्यो टाउनहल नआएर अर्कोतिर जाने, फेरि अर्को तलाबाट अर्कातिर जाने जमिनमै पुग्ने, भन्नाले जमिनको तलाबाट पनि जमिन नै भेटिने अनि पाँच तलामाथिबाट पनि जमिन नै भेटिने मात्र दिशा अलग ठाउँ अलग म पाँच तलामाथिबाट बाहिर निस्केपछि तिम्रो त्यो प्रविधिको करामत बुझ्न सक्छु कि भनेर स्टेसनमा नै दुई घण्टा घुमे तर म रन्थनिएँ। जादुगरको जादुजस्तो तिम्रो विज्ञानको प्राविधिक चमत्कार छाम्न अझ पनि सकिरहेको छैन। कति गजबले बनाएकी तिमीले यो माया नगरीमा गुड्ने बस र रेलका स्टेसनहरू, मलाई बुझ्न यति गा¥हो भयो । अब भन त मेरा माटाका ती पाठशाला टेक्न नपाएका हाम्रा दाजुभाइ , बा, आमा ! आउँदा उनीहरूलाई कस्ले बुझाउने, कसरी गन्तव्यमा पुग्ने त्यो स्टेसनको भाषा पनि नबुझिने अनि गुगल नक्सा छाम्न पनि विद्यालय छिचोलेकै हुनुपर्ने, तिम्रा मायानगरीमा कोही कसैलाई कसैको प्रश्नको उत्तर दिन पनि फुर्सद नहुने, समयसँग निमेष– निमेषमा डलरको मापन हुने । ओहो यो शहरको घना जंगलमा उसै हराइने कति पछि छौं हामी! तैपनि प्रशान्त किनकिन मलाई मेरै माटोको संस्कृति, पारा र बान्कीले नै छोइराखेको अनुभूति भैरहेछ। सायद बानी नपरेर होला वा त पछाडिएको पुरातन कलामा नै भिजेर होला कुनै उत्तर छैन मसँग। ऐले यो घडी अनि प्रशान्त! मलाई छोयो तिम्रो यो मायानगरीको जादुगरी कलाले तर पटक्कै छोएन व्यक्तिवादी चरित्रले र पटक्कै छोएन तिम्रा नगरीको यो अहंवादी संस्कार र बान्कीले। भैगो छाडौं यी कुरा मलाई नछोएर तिम्रा माया नगरीलाई के फरक पर्छ र? छुनेहरू छपक्क भिजेकै छन्। मेरै माटोको नयाँ पुस्ता मजाले भिजेको छ तिम्रो यो मायानगरीमा प्रशान्त ! म त प्रशान्त! अब करीब–करीब डाँडाकै घाम न हुँ पश्चिमी क्षितिजको । ऐलेको मेरा माटाका पुस्ताकाहरू केही जानेर आफ्नो माटोतिर फर्कने र त्यहाँ पनि तिम्रो नगरीको जादुगरी कलालाई विस्तार गर्नेतिर उन्मुख पनि छैनन् किनकि तिम्रो मायानगरी पढ्न सक्ने, जान्न सक्ने अनि तिम्रो नगरीको कलालाई उतार्न सक्ने उनीहरूको बैंक खाता नै छैन। तसर्थ मेरो माटोको यो पुस्ता पनि यतै बिलाउने धुनमा नै रहेको कुरा गरिरहेको म भेटिरहेको छु ।
खैर! जे होला– होला, जसो गर्लान् –गर्लान् , मेरो बसको जादु पनि हैन किन माथापच्चीस गरौं। अर्को मजा के भने नि प्रशान्त ! मेरा माटाका यहाँ स्टेसन नै पिच्छे ‘हे रत्नपार्क –रत्नपार्क ,भक्तपुर –भक्तपुर, ए छछ, छैनछैन, जाने हो’ भन्दै कराउने बालकहरू पनि रहेनछन् न वसमा न रेलमा हातमा नोट बोकेर भाडा माग्ने पनि रहेनछन् , यात्रुको खल्ती काटिने सम्भावना नै भएन, बस चढ्नु र साथमा ओपल कार्ड बटनमा झोस्नु ब्यालेन्स छ , त्यही बटमले खाताबाट काट्छ, छैन नचढ् बस, नचढ रेल सकियो न कुनै कन्टक्टर न टिटि केको झर्को केको सास्ती । फेरि बसमा कुस्ती खेल्नु पनि नपर्ने लुगा च्यातिने वा दलिएर कोटको बटन झर्ने डर पनि रहेन, कसैका लामा नङले अनुहारमा घाउ बोक्ने डर पनि भएन यो चैं सिकिहाल्नुपर्ने हाम्रा माटोका यातायात चलाउने ठेकेदारहरूले तर उनीहरू सिक्दैनन् सिकेमा डोन बन्नै पाउन्न् , न त बन्न पाउँछन् ठेकेदार अनि सिक्ने किन। लाग्छ अरू पचास वर्षमा पनि यो नगरीको यस्तो छरितो कला हामीले हाम्रो माटोमा देख्न सक्तैनौ होला किनकि हामी कवि भूपिको कविताको ‘हामी भुद्दु छौं र नै बहादुर छौं बहादुर छौं र नै भुद्दू छौं।’ म प्रशान्त !तिम्रो माया नगरीको स्टेसनबाट अघि नबढी हराँएछु। अघि बढौं अब।
स्टेसन बाहिर राम्रो सानो पार्क , सुन्दर पुष्पहरू मुस्कुराइरहेका , फूलमा भँवरा घुम्नु एउटा आच्छादित प्राकृतिक खेल ,खेलिरहेका थिए जोडीहरू कफीका साथ, चिसो कोक र फान्टाका साथ , टाढा–टाढाबाट आएका पर्यटकहरू, रमाइरहेका थिए मनसँग, आफ्नै धुन बजिरहेका थिए अन्तरको सायद मीठो नादसँग ,संगीतसँग।
म अघि बढेँ ती धुनहरूलाई छाडेर त्यो टाउनहल गेटबाट। अलिकति पर शदी अठारको महारानी भिक्टोरियाको सालिक रहेछ, भाइ प्रज्ज्वलले फोटो लिन आग्रह गरे र हामी सबैले उनको सालिकसँग जोडिएर एक रहर मेट्यौं। नजिकमा ट्राम शहरको फन्को लगाई नै रहेथ्यो टन्न टुरिस्टहरू बोकेर , अनि कुनै गोरा चटक देखाइरहेको थियो कुनै मार्लिको पपकासाथ। रियापका साथ। अरूका आँखाहरू कता परे कुन्नि मेरा आँखा एक कुनै उमेरले सायद सत्तरी पार गरेको हट्टाकट्टा अल्गो ह्याट लगाएको मुसुमुसु हाँसेर सालिकको भंगिमा आँखामा उतारिरहेको गोरो मानिसमा पर्छ, मलाई नै हेरेर मुस्काएको जस्तो उसका मिलेका दन्त पंक्तिहरूले दर्साएझैं भान भएपछि ममा केही सोध्ने जिज्ञासा जाग्यो , मैले सोधेँ ‘उसले बतायो ऊ व्रिटिस हो हाल निउजिलेण्ड बस्छ र घुम्न आएको।’
मुसुमुसु हाँसिरहने उसको नाम मारियो वर्ग रहेछ , उससँग केही गफिएपछि उसले कफी पिउनेकुरा ग¥यो ,भाइले उसलाई हामीले पिएको तिमी पिउ न त भनेपछि ऊ बाटो लाग्यो र हामीह पनि चाइना मार्केट नामले प्रख्यात चाइनिजहरूको बजारतिर लाग्यौं।
तर मलाई चैं त्यो बब मारियोसँग गफगर्ने धोको नै धोको बनेर रहिरह्यो किनकि उसको कदले मुसमुसु मुस्कुरनउने कलाले मलाई हाम्रा माटोले धरोहरझैं उभ्याएकी खासगरेर हामी इलामेलीहरूका अर्का शिखर पुरूष खगेन्द्र नाथ शर्माको झजल्को दिईरहेको थियो।
अँ प्रशान्त !तिम्रो यही मायानगरीबाट म उहाँलाई नमन गरिरहेछु। २०३९सालमा स्थानीय विकास मन्त्रालयमा जागीर गरेकोबेला उहाँ त्यही अन्तर्गतको पञ्चायत विकास प्रशिक्षण केन्द्रको प्रिन्सिपल हुनुहुन्थ्यो ।विद्वताका प्रखर शर्मा त्यहीबेला विशिष्ट श्रेणीमा कार्यरत हनु हामी इलामेलीहरूका लागि गर्वको विषय थियोे,सुदूर पूर्वबाट टाढाको राजधानी (तीनताकाको उहाँले जागिर प्रवेश गर्दासम्मको नाम नेपाल) आएर पढेर जागिरे बन्ने भनेको अलि एडभान्स क्लासको मात्र सम्भावना रहन्थ्यो यसो भनेर उहाँ कुनै सामन्ती वा जिमीदार वर्गको चैं किामार्थ होइन बरु शिक्षित र कुलीन वर्गको हुनुहुन्छ । हामी पूर्व इलामेहरू काठमाडौं नपसेर बनारस झर्ने र उतै संस्कृत पढ्ने चलन पछिसम्म पनि थियो यसर्थमा पनि उहाँले पथप्रदर्शकको काम गर्नुभएको लाग्छ मलाई , नहुन पनि सक्ला तर मेरो विचारमा हो। उहाँ विद्वान भैकन ठुलो ओहदामा रहीकन पनि स्नेही , मृदुभाषी र नम्र हुनुहुन्छ ,अहंले र त्यसको हजुरबुबा अहंकारले कहिल्यै दबाएन उहाँलाई। धन्य ती बब! मार्लो। प्रशान्त !तिम्रो काखमा मुस्कुराएको यो सिड्नीमा उत्तरीलालसागर चाइनासिका मानिसहरू कति जमेर ,कति रमेर र कति झुमेर व्यापार ब्यवशाय गरिरहेका कति कर्म प्रीय छन्, कति परिश्रमी र कति मिहिनेती छन्, यिनीहरू र नै विश्वलाई अर्थशास्त्रीय सौर्न्दर्यले छपक्कै छोपेका, धपक्कै बालेका र जुरुक्कै बोक्न सकेका छन् ।आजित छ अमेरीका,ब्रिटेन र युरोप पनि यिनका प्रविधसँग, विज्ञानसँग र शीपसँग।कति मनपर्दा,उज्याला र हँसमुख यिनीहरू कति सुहाउँदो व्यापारिक पारा र बान्की । ज्वेलरी पसलका चम्किला माणिक्यहरूका हारजस्ता यिनीहरूको व्यापारीक मुस्कानसँग मिलेका दाँतहरू र गोरो मुहार।नबिक्ने बस्तुहरू पनि यिनका लवज र मुस्कानले बिकाईदिन्छ।मैले खासातिरका सन्काहा र जिराहा चिनी वयापारीहरूमात्र भेटेको ।ठाउँ अनुसार र देश अनुसार पनि यिनीहरूको लवज फरक भएको होकित!राम!जाने।
निकै ठूलाठूला पसलहरू र बजार। यो बजारमा छाँद मारेर घुमियो ।किन्ने सामानहरू पनि सस्ता र राम्रा क्वालिटिका,हामी त पर्यटक नेपाली पैसामा डलर जोख्नु अलि हाम्रा बुताले नभ्याउने। भाइ प्रज्ज्वल र बहिनीहरूले केही सामानहरू किनेर लिएकाले केही मात्रमा मोल,तोलबारे थाहा भयो । भाइले हामीलाई एउटा पसल अगाडि पुरयाएर , यो पसल, यहाँका र बाहिरका भिआइपीहरूका लागि भनेर देखाए । जहाँ एक लेडिज ब्यागको दाम दुई लाख अस्ट्रेलियन डलर थियो । अँ प्रशान्त! तिमीले उभ्याएको एक होटल पार्क रेजिज ४९ तला अग्लो रहेछ टाउनहलमा । ऐले आफ्नो व्यापार प्रारम्भ गर्नुअघि भाइ प्रज्ज्वल त्यो होटलको म्यानेजर रहेछन् । उनले हामीलाई ४८ तलामाथि पु¥याउने काम गरे, जहाँबाट उत्तर सिड्नी शहर तिम्रो छाती भएर पारिपट्टि सजिरहेको थियो। परपरका गगनचुम्बी महलहरूले छतमा अस्ट्रेलियन झण्डा फहराएर रवाफ दर्ज गरिरहेका थिए भने तिम्रो निलो पानीमा सामुद्रिक हाँसहरू पौडिरहेका सानाठुला जहाजहरू, स्टिमहरू र डुंगाहरू पनि दौडिरहेका दृश्यले मन चुँडेर त्यतैतिर पु¥याइहेको थियो। आकाश खुला थियो। निलो र प्रशान्त तिम्रो प्रतिविम्बित छाया पनि टल्किनु पनि स्वाभाविकै थियो यद्यपि मैले पर धेरै पर र धेरैमाथि यी आँखाहरू हेरेर सगरमाथा र हिमाल खोजी गरेँ उत्तरी गोलाद्र्धमा उभिएको मेरो सगरमाथा र हिमालहरू प्रतिविम्बित थिएनन् त्यहाँ तर पनि तिम्रो निलो र नुनिलो पानीमा तिनको रगत र पसिनाको घुलन अवश्य छचल्किरहेको थियो भनेर मानिदिन्छु म , कि कसो प्रशान्त ! हामीले त्यो होटलको छतबाट देखेसम्म अस्ट्रेलियालाई आँखामा पिएर र छातीमा संगेटेर ओर्लियौं र प्रस्थान गर्यौ। सिड्नीको त्यो भिक्टोरियाको सालिकलाई बाई गरेर घाम पश्चिमी शरहदमा हामीलाई बासतिर मोडिरहेथ्यो र हामी पुनः तेस्रो तलाको रेल स्टेसनबाट ब्ल्याक टाउनतर्फ ओर्लियौं।
प्रशान्त !तिम्रो काखको अष्ट्रेलिया भेट्न म कसरी आइपुगेँ, यो पनि गजवकै संयोग छ। म विदेश घुम्न सक्ने आर्थिक हिसाबले कुनै पर्यटक पनि हैन। सायद मस्तिष्कको कुनै कुनामा अवचेतन मनभित्र एउटा घुम्ने चाहनाको सफ्टवेयर बनेर हार्डडिस्कमा बसेको हुँदो हो र कालान्तरमा त्यो प्रकट भएर अवसर लिएर आएको हुँदो हो ? भाइ प्रज्ज्वल रेग्मीले सबै कुरा मिलाएकाले आउन पाइएको हो। विदेशको भिसा पाउन हामीलाई गा¥हो छ । उनको हैसियत अलि माथिल्लो नभएको भए हामी विनिता र मलाई सिधा भिसा दिने पनि थिएन। बुवाआमालाई छोराछोरीकोमा आउन जस्तो सजिलो हामीलाई अलि हुने थिएन। फेरि हाम्रो त बटालियन जम्बो नै थियो। हाम्रो आदरणीय दाजु विश्वराज रेग्मी र भाउजू अनु रेग्मी (भाइ प्रज्ज्वलका मातापिता) अनि उनका दाजु प्रतीक रेग्मी र भाउजू रमा रेग्मी अनि हामी र उनीहरूका छोरा आदित समेत गरेर हामी भारतको कुनै तिर्थ गएझैं हुल नै थियौं। एउटै मान्छेको यति बढी पाहुनालाई प्रवेशाज्ञा दिनलाई आमन्त्रण गर्नेको हैसियत माथिल्लो हुनपर्छ। रहेछ र नै दियो पनि। हामीले २०७६माघ३गते बिहानको ११ बजे चाइना एयरलाइन्सको विमानबाट आफ्नो प्रिय भूमिको राजधानी काठमाडौंलाई छाड्दै अनन्त आकाशतिर हुँइकिएका थियौं । जहाज विस्तारै अल्गँदैअल्गँदै अनन्तको यात्राको पथमा हुँइकियो अनि मेरो भूमि , मेरा आँखाका नानीबाट ओझेल भयो । विमानमा चाननिज एयरहोस्टेज नानीहरूले राम्रै स्वागत र सेवा गरे। अनन्तमा उड्दा–उड्दा हामी त्यहाँको समयानुसार ६ बजे गोञ्जाओ विमानस्थलमा अवतरण गरेका थियौं । अनि सरासर त्यो ट्रान्जिटमा आफ्नो यात्राको विन्दु कक्षमा १० मिनटको एयरोर्टभित्रको यात्रा पछि पुगेका थियौं । ट्रान्जिटको समय छोटो भएकाले त्यो चाइनाको सुन्दर र बडेमानको एयरपोर्टलाई आँखामा राम्रो सँग सजाउन पाइएन। त्यहाँको समयानुसार हामी बेलुकी ७÷३० बजे अस्ट्रेलियातर्फ उहीँ चाइना साउथ एयरलाइन्सको अझै ठूलो जम्बो चढेका थियौं ।
अँध्यारोमा त्यो विमान पूर्वी आकाशतिर हुइँकिएको मेरा अगाडिको सिटको दूरदर्शक यन्त्रले देखाइरहेको थियो। रातको ९बज्दा विमानले तिमीलाई भेटेको थियोे प्रशान्त । कति फैलिएको तिमी । तिमीलाई हेर्दै, नाप्दै विमान उडी नै रह्यो त्यो रातको अँधेरी गहराइमा लगातार मेरा यी आँखाहरू त्यो मेरो अघिल्तिरको सिटमा टाँसिएको टेलिभिजनमा तिमीमा नै टाँसिरे टाँसिरहहे, निन्द्रा नामको कुनै चरा रातको ३ बज्दासम्म आँखाले भेटेको थिएन । आखाँहरू लगातार तिम्रो निलो पानी र काल्पनिक गहराइको कुवालाई नापिनै रहे थाकेनन् किमार्थ , गलेनन् पटक्कै र झिम्कएनन् कदाचित म आफू आफैंमा आश्चार्यचकित भएको थिएँ प्रशान्त ! तिम्रो छातीमाथि। उड्दाउड्दै विमान कुनै एक विन्दुबाट निकै अल्गो पर्वतबाट तल झरेको र झर्दैझर्दै आएको सम्झिरहेछु म ठाडै ओरालो झरेको त्यो कुन विन्दु हो? भूगोलको मैले मानचित्रमा पढ्न जानिन सोधेकाहरूले त्यो ख्याल नै गरेका रहेनछन् सायद निन्द्रानगरीमा डुब्दा हुन् , ठ्याक्कै त म भन्न सक्दिन तर त्यो मलेसियाको पूर्वी किनार हुनुपर्छ म लख काटरहेको छु । त्यहाँबाट विमानले तिमीलाई छोयो र सिधै ठाडो ओरालो झ¥यो । अर्थात् दक्षिण झ¥यो । झर्दा विमानको चुच्चो सिधा जमिनतिर र पुच्छर आकाशतिर ठ्याक्कै देखिन्छ , लाग्छ यात्रुलाई कतै विमान सिधा तिम्रो छातीमा त घोप्टिएर आफ्ना पीडाका आँसुहरू , वेदनाका गीतहरू र उकुसमुकुसका कविताहरू त सुनाइरहेको त छैन? लाग्छ नै। मलाई लाग्यो अरूहरूलाई नलागे पनि विमान ओर्लिरहेको यथार्थलाई भने नकार्लान् भन्ने मलाई लाग्दैन।
अँ प्रशान्त ! तिम्रो खुला छातीको बाहिरी आवरण भने ऐले तिम्रो किनारामा उभिरहँदा भन्दा छर्लङ्ङ त त्यही स्क्रिनमा मैले देखेको हूँ, छामेको हूँ र पढको हूँ । कति स्पिड तिम्रो दौडको त्यो विमान दौड्नै रह्यो , दौडिनै रह्यो लगातार घडीको काँटा सर्दै नै रह्यो , सर्दै नै रह्यो अस्ट्रेलियाको पर्थ भनिने स्टेट नभेटुन्जेल तिम्रो सफा, स्निग्ध,र शान्त अनि निलो पानी भएर। ३घण्टाको अविच्छिन्न ठाडो ओर्हालो पछि तिमीलाई विमानले छाडिदियो र अस्ट्रेलियन जमिनलाई पार गर्दै रह्यो अरू ५घण्टा। करिव बिहानको ६बजेतिर विमानमा चीनका ती परीहरूको आवाजले सबै यात्रुका निन्द्रालाई चुँडाइरहेको थियो , विहानको विमानको नास्ताले अर्थात् तिम्रा भाषामा ब्रेकफास्टले। खाजा र चिया पछिको करिब एक घण्टामा प्रशान्त ! तिम्रो यो सिड्नी मायानगरीलाई माथि आकाशबाटै सबै यात्रुका आँखाहरूले दनदन दन्काइरहेका, पिइरेका र टाँसिरहेका थिए अनेकन् सौन्दर्यका अनुपम नमुनाहरू र मैले पनि पिएँ सौन्दर्यका जुसहरू, सर्वतहरू र सातुहरू। यत्तिकैमा विमानले सिड्नीको विमानस्थलको भुइँमा खुट्टा राख्न पुग्यो, विमानस्थलको चेकजाँच र पास सकेर बाहिरिँदा नेपाली समय ७ बजेको थियोे र प्रशान्त !तिम्रो यो मायानगरी अर्थात् सिड्नीको समय अनुसार २०७६÷माघ महिनाको दिउँसोको १२÷३०बजेको थियोे ।
विमानस्थल बाहिर हाम्रो प्रतीक्षामा भाइ प्रतीक रेग्मी गाडी लिएर बसिरहेका थिए।सिड्नी विमानस्थल लाई हामीले बाइ!गरेर पोका, पन्त्यौरनकासाथ छाडिदियौं।बाटो अतिचौडा छलेनको हाईवे सफा ,शान्त अनि स्निग्ध बाटको दुवै तर्फका रूख विरूवाहरू चटक्कै पारेर बेहुली सिंगारेझैं सिँगारिएका अनि हर्न नबजाई , नचुँइकीकन एउटै रफ्तारमा कुदिरहेका गाडी, सिन्को पनि नदेखिने सफा सडक, अनि परीहरूझैं एकनासले उभिएका, एकैकदका परपरसम्म देखिने घरहरूले साँच्चिकै शोभायमा तिम्रा किनाराको वस्ती प्रशान्त! कस्तरी कुँदेर बनाएका यी गाउँहरू, कस्तरी मिलाएका यी सडकहरू र कस्तरी पालन गरेका नियमहरू पनि यी सवारीहरूले मानौ हाम्रा पुराणहरूमा कल्पना गरिएका यो कुनै दन्त्यकथाको स्वर्गको कुनै नगरी हो, मानौ भागवतका हाइपोथेटिक विष्णुको जादु नगरी हो वात! कुनै ब्रम्हाको उत्पातकै सृष्टिको किंवदन्ती, हामीले त पुराणमा मात्र सुनेका र पढेका काल्पनिक कथाहरू अनि मधुमालती र लालहिराका कथाहरू प्रशान्त ! सँच्चिकै हाम्रा पुर्वीय चिन्तनले कल्पना गरेका मायानगरी अनि महाभारतको मय दानवले ठड्याएको विचित्रको पाण्डवहरूको ईन्द्रप्रस्थको दुर्योधनको अपमानित बगैंचा र फाउन्टेनहरू, ऐनामा सजिएको पानीका प्रतिविम्बहरू जस्तै यहाँका दृश्यहरूले कुन पर्यटकको मन नखिच्ला , नछोला र नभिजाउला र ?अनि हाम्रोजस्तो डुङडुङ धुलो उड्ने , खेतमा झैँ गजगज हिलो उम्लने सडकहरू , झुस्स बढेका सेता दारी जस्ता शहरका घरहरू सम्झेर यहाँ पढ्न आएका हाम्रा नानीहरू टाउको ठोकाएर यहीँ बस्न लागिपर्नु स्वभाविक नै ठाने मैले किनकि ब्वाँसा जस्ता शासकहरूले जनताकै मुटु, कलेजो र आन्द्राभुँडीहरू ताकिरहेका अवस्थालाई मध्यनजर गर्दा उनीहरू केका लागि र के जित्नका लागि फर्किउन् पनि र? सुन्दर सगरमाथा र हिमाल, प्रकृतिले सिँगारेर उभ्याउँदाउभ्याउँदै पनि ,झर्ना , ताल र कुण्डहरूले सिँगारिँदा– सिँगारिँदै पनि यिनैलाई भजाइखानेहरूले मानव निर्मित नगरी कसरी बनाउलान्, कुनै नयाँ प्रविधि खिप्लान र आत्मनिर्भरताको भण्डार दर्ज गर्न लागिपर्लान् भनेर सोचून् ती नानीहरू र फर्कुन आफ्नो प्यारो गुँड र घर सम्झेर, थिचेर पीडाहरू, गुम्स्याएर आमाका स्नेहहरू अनि खामेर पिताका परिश्रमका पसिनाहरू छातीमा , अर्काकोमा आफ्नो सीप रोप्न बाध्य छन् निरीहै भएर र रहेर पनि। आह! मेरो सगरमाथा! कति लजाँउदी हौ हगि ! तिमी पनि ती तिमीलाई चुम्न आउने पर्यटकहरूका आँखामा,सम्झिरहेछु सगरमाथा !म तिम्रा असह्य वेदनाहरू ऐले यो सुदूर तलको भूगोलको कुनाबाट।
यसरी प्रशान्त! म मेरो सगरमाथाको देशबाट तिम्रो महानगरीको मानवीय लीलालाई आत्मसात् गर्न केही दिनको पाहुनाका रूपमा आएको नकि यतै ओत लाग्ने मेरो उद्देश्य यद्यपि ऐले यस कोरोनाको जेलरूपी बन्दीमा कारागार भित्रको कैदी दुनियाँमा म पनि तिम्रा समिपमा थुनिएको हैसियतबाटै यी तिम्रा नगरीका र सकेसम्म छाम्न सकेका तिम्रा मोती दानाका मालाहरू उन्ने धृष्ट गरिरहेको छु गरिनैरहेको छु अनि लागि नै रहेको छु। यो उद्वेलित उद्विग्नता, नैराश्य र पलायनताका मानव चैतन्यताभित्र कति नै पहिल्याउन सकिन्छ र? तिम्रा जादुई सामथ्र्यहरूका विम्बप्रतिबिम्बहरूलाई तै पनि हेरेँ मैले तिमीले माया गरेकी अस्ट्रेलियाको राजधानी क्याननबेरा, तिमीले उठाएकी ब्लु माउन्टेन, तिमीले सजाएकी न्यु साउथ वेलसका पारामटा, स्त्रातफिल्ड, अबनको बजार र बजारभित्रको नेपाली असन बजार, ग्रान्ड हिलका नेपाली घर र आँगन, यस्तै मिन्टोका नेपाली घरआँगनहरू, रकडेलका नेपाली गहना पसलका नेपाली सीपहरू, नेपाली चिया,नास्ता र खाजाहरू,भुटन, मम र थुक्पा अनि नेवारी खाजाहरू पनि अनि मिन्टोको नेपाली दुर्गा र शिव मन्दिर र भारतीयहरूले बनाएको बैंङ्कटेश्वर मन्दिर पनि अनि यस्तै वैलिँङ्गङ् जानेबाटाको ..नानतेन टेम्पल‘‘‘‘ बुद्धको स्तुपा, चैत्य र गुम्बाहरू पनि, जहाँ बुद्ध धर्मावलम्बीले प्रशस्तै जमिन आर्जेका रहेछन् ,दिनभरि पैदल घुमेर नसकिने गरी। यस्तै स्कोर फिल्डका नेपाली सभ्रान्त र भारतीय सभ्रान्तका सुन्दर हवेलीहरू, नानीहरू खेल्ने र खेलाउने ठूला साना पार्कहरू, म्याकहरू, भलिवल, फुटबल, ब्याटम्यानटेन, क्रिकेट र गल्फका मैदान र कोर्टहरू । यस्तै क्याथोलिक र प्रोटेस्टेन्ट धर्मावलम्बीले निर्माण गरेका चर्च , कलेज, बार र पपहरू।
कलेज र पाठशाला जाँदै गरेका असंख्य बालबलिका, किशोर र युवाहरूको पैरन, सुन्दरता र अनुशासन। सिँगारिएका घरहरू अनि मध्यम वर्गीय परिवारका वृद्धवृद्धाका जोडीहरू, प्रायः नितान्त एक्लोपनमा रमाउन, भिज्न र बस्न जानेकाहरूको लय, सुर र बान्कीहरू। यस्तै प्रशान्त ! एकै ठाउँमा लुगाकपडादेखि लिएर हरेक दैनिक उपभोग्य पदार्थ, खानेकुरा, माछामासु, पाइने ठुलाठुला आठदश तले व्यापारिक महलहरू र अनौठा हरेक तलैपिच्छे गाडी पार्क गर्ने पार्किङहरू, गजवको प्रविधि र गजवको विज्ञान तिम्रा यी जादुनगरका ठूलाठूला शहर, मध्यम शहर अर्थात् आङ्ला भाषाका टाउन, बजारहरूमा। गाउँवस्तीमा पनि छोटा कदका महलहरू(उल्सवर्थ) र सडकका सानातिना सुन्दर र सफा पसलहरू (कन्भिनेन्ट स्टोर )र पेट्रोल पम्पहरू, म्याक र पपहरू । सानानीहरूलाई दिनुपर्ने स्नेह, माया र ममताका पाठहरू त सडकैपिच्छे बनेका साना, मझौला कदका पार्कमा र महलमा बनाइएका चिप्लेटी, पिङ, लुकामारी खेल्ने बाकस, चाकाचुली, महलहरूमा बच्चादेखि बालबालिका गुडाउने गाडीहरूले पनि दर्साइरहेका थिए।
मानिसहरूको कर्म र मिहिनत साना ठूला, ससाना खेतीबारी र घरआँगन र घरकै पछाडिका प्रत्येक घरका बगैंचाहरूले पनि देखाएको प्रष्ट हुन्थ्यो । प्रशान्त ! म पाहुना बनेर भित्रिएको भाइ प्रज्ज्वल रेग्मीको घरमा पनि उस्तै एकै रूपको बगैंचा घर पछाडि र अगाडि आँगन रहेछ गुलाफ अनि थाकल र श्वेत क्यावराले सिंगारिएर धपक्कै बलेको ।
काइँली! –अस्ट्रेलियन नाम छिमेकी भाइ प्रज्ज्वलको) हेरिरहेकी थिई निर्निमेष मेरो घोत्ल्याइँ र भावलाई लज्जालु उसका खैरा आँखाहरूले।
प्रशान्तकै बालुवा टेकेर त्यो ब्लुमाउन्टेन । त्यहाँसम्मको यात्रा तय गरौँ । आएका बेला हेर्नै पर्ने ठाउँ भनेर भाइ प्रज्ज्वलले घुमाउने योजना बनाएपछि हामी, विनिता, दाजु विश्वराज रेग्मी, भाउजू पुनम रेग्मी र बहिनी पुजा रेग्मी अनि सानी नानी अमिरा लागियो ब्लाक माउन्टेनतिर। प्रज्ज्वल भाइको हातमा गाडीको स्टेरिङ छ,सन्तुलित ड्राइभिङ उनको सोख नै हो, मर्सिडिज हुइँकिन थाल्यो १६०÷७० किमिप्रति घण्टाको रफ्तार लिएर । चिल्लो पिच कहिल्यै नभत्किएला जस्तो सडक। सडकको दायाँबायाँ जंगल लगाएको बिरूवाहरूको संरक्षणमा औधी ध्यान पु¥याउने सरकारी नीतिलाई जनताले
पनि पूर्ण साथ दिएको देख्दा यो देशमा वनजंगल र वन्यजन्तु अनि चराचुरुङ्गीको धेरै नै संरक्षण गरेको देखियो । गत २०१९ ईसं डिसेम्बरदेखि लागेको आगोले केही, कतैकतै जंगल विनाश भएको पनि देखियो । कठै कति वन्यजन्तु सखाप भए होलान् त्यो आगोमा कल्पना गर्दा पनि मनै सिरिङ्ङ हुने, विचरा निरीहहरूलाई सरकारले पनि पूर्ण संरक्षण गर्न नसकेको समाचारहरू सबैलाई अवगत नै छ। प्रकृतिलाई मान्छेले कहाँ सक्छ र ? तैपनि धेरै हदसम्म नियन्त्रण गर्ने प्रयास गरेको रहेछ। हामी आएको ७ दिनपछि ठुलो पानी भएर आगो निभेको थियोे । सरकारी नीति दूरगामी छ। सडक ६–७ लेनको हुँदा पनि उनीहरूले बनाउँदा १लेनबाट अर्को लेनको बीचबीचमा धेरै जमिन ग्याप राखेको र त्यो ग्यापमा बिरुवा लगाएर जंगल बढाएकोले पछि सडक बिस्तार गर्दा किनाराका घरहरू भत्काउनु नपर्ने, मानिसलाई दुख दिइरहन नपर्ने बीचमै बढाए जति पनि पुग्ने बान्कीको नीति सरकारले अख्तियार गरेको देखिनु साँच्चिकै दूरदर्शिता होइन भन्ने ठाउँ नै छैन। जे होस् यी रमाइला क्षणहरू हेर्दै र गम्दै गाडी अघि बढी नै रहेको छ। यात्रुलाई कथङ्कदाचित् शौच गर्नु परिहालेमा सडकको १० किमिको अन्तरमा शौचालयहरू छन्, बाटो किनारामा जताततै शौच गर्न निषेध छ अनि सफा हुने भइहाल्यो । धेरै व्यवस्थित छ। यी सबै हेर्दा हामी १ सय वर्ष अझै पछि छौँ जस्तो लख काट्न सकिन्छ। हाम्रो देश प्रकृतिले अति सुन्दर बनाएर पनि हामीले केही गर्न नसकेको आभासले विदेसिनेहरूलाई मलाई जस्तै छुँदो हो, घोच्दो हो र सेक्दो हो।
ठूलाठूला ओहोदामा पुगेकाहरू पनि विदेश घुमेर यी तमाम देख्दा पनि खै केही कसैले गर्ने, उठाउने र बनाउने संकल्प गरेन,गर्न सकेन। राजा महेन्द्रपछि नेपालमा साँच्चिकै भन्नु पर्दा कोही नै दूरगामी सोच राख्ने नेता देखिएन।
अँ हाम्रो गाडीको वेग उकालो लागेपछि कम भयो । हाम्रो इलाम जाने बाटो जस्तो, बुधबारेदेखि बर्ने अनि माथि हरकटेसम्म जस्तै । उकालो चढ्दै जाँदा चिसो सिरेटोले कानलाई म्वाइँ खान थाल्यो , चिसो फेरि अलिअलि सिमसिमे पानी पनि पर्न थाल्यो अनि त जाडो भैहाल्ला कि जस्तो भयो मार्चको गर्मीमा पनि। करीब हाम्रो माईखोलाबाट गोलाखर्क भञ्ज्याङसम्मको उकालो उक्लिएपछि हामी गन्तव्यमा पुग्यौं । बजार पहाडी बजार, तनक्क उकालीओरालीमा तन्किएको घर पनि मध्यम कदका हवेली टाइपका। व्यापार–व्यवसाय गर्नेहरू रैथानेभन्दा पनि बढी अरू नै देशबाट आएकाहरू अधिकांश चैं। बजारकै घरहरूमा पनि आँगन हुने अनि सानो चिटिक्क परेको फूलबारी र कागती र जुनार साना पोथ्रामा सजिएको देख्न मिल्ने। पर्यटकीयस्थल भएकाले होटल, गेस्टहाउस र रिसोर्टहरू देख्न पाइने यिनै बान्कीका र ठाँटका घरहरू, दोकानहरू, मानिसहरू हेर्दाहेर्दै हाम्रो गाडी टक्क रोकियो । आइतबार बिदाको दिन र २ डलर भाडाले ट्रेन, बस जे चढे पनि त्यति त नै पैसा एक ठाँउमा तिरेपछि दिनभर भाडाका लागि खर्च गर्नु नपर्ने भएर होला पर्यटक खचाखच भरिएका थिए। गाडी पार्क गरेर हामी त्यहाँको थ्री सिस्टर भनिने ढुंगाको पहाड हेर्न हिँड्यौं। कति मजाले दृश्यलाई अवलोकन गर्ने त्यो पहरामा पनि राम्रो ठाउँ बनाएको, पहरामा नै खोपेर शौचालय बनाइएको अनि बाटो पनि घुमाउरो पारेर त्यत्रो ठुलो हाम्रो चुरे फाँट वा भ्याली जस्तो ठाउँमा पनि पैदल हिँड्न मिल्ने ढलोटको बाटो निर्माण गरिएको त्यो बित्थाको सानो पहाडलाई कति राम्ररी सजाइएको। त्यो थ्री सिस्टर जस्तो त हाम्रो मैना चुलीतिर कति छन् कति, हाम्रै नामसालिङको नेपाल ढाँडमा दर्जनौ त्यस्ता ढुङ्गा उभिएका छन् तर अब उनीहरूले यसैलाई गजवको डलर फलाउने पर्टकीयनगरी बनाइदिए हामो नेपाल ढाड उसै पल्टिरहेछ किच्च, यस्तै हो देश बनाउन अठोट र सोच नै चाहिन्छ मैले मनमनै गमें।
हामीले त्यो पहाडको होचो चुचुराबाट चारैतिर धेरै पर क्षितिजसम्म तन्किएको जंगलै जंगलको उपत्यकालाई आँखाभरि सजायौ , कहिल्यै नमेटिने गरी , सिमसिमे पानी र चिसो हावामा भिज्दै भिज्दै। रमणीय दृश्यले आँखा नटटाउँदै समयले नेटो काटिसकेछ , केही चिया कफी पिएर त्यो जाडोलाई छाड्ने अठोटका साथ एउटा रेस्टुरेन्टमा छिर्यौं हामी। छेउको एक टेवलमा छाला कालो तर मान्छे मिजासिलो बसेर कफी पिउँदै रहेछन् , मैले उनीतिर आँखा दौडाउनासाथ उनले ‘हेलो माइट, हाउ यु गोइङ’ भनिहाले मैले पनि ठुटे अंग्रेजीमा भन्दिहालें –अल गुड, थ्याङ्क्स, हाउ यु डुइङ। अब विस्तारै गफ गाफ हुनथाल्यो। कफीको पियाइसँगै उनी बोल्न थाले। सुनेको थिएँ विदेशीहरू अनावश्यक गफमा झर्कनछन् , त्यो कथालाई आत्मसात् गर्दै कुरा सुने करिव आधा घण्टाको बसाइमा उनी कहीँ कतै झर्केनन्। उनी दक्षिण अफ्रिकी रहेछन् नाम माइकल हुन् रे। मेकानिक्स पेसाले। घर बनाएर परिवारको राम्रो पालनतालनका साथ बसेका रहेछन् सिड्नीमा। उनीहरूको परिवार भने हाम्रोजस्तै संयुक्त हुने बताए उनले। तर अब भने उनी अस्ट्रेलियन नागरिक भैसके उनले बताए अब चैं के हुन्छ भन्न सक्दिन। उनलाई यो ठाउँ मन पर्यो रे र अब पिता स्वर्ग भइसकेका आमा आफूसँगै भएकाले देश फर्कने मुड नभएको उनले बताए। गफगाफकैे सिलसिलामा हाम्रो समयको पावन्दीलाई मध्य नजर गर्दै हामी छुट्टियौं।
भाइले ब्लुमाउनटेनलाई गाडीबाटै बिदाइ गराए। अब ओर्लन थालियो ओरालो। ओरालोभरि पनि जंगलका बीचबीचका ठूलाठूला क्षेत्रफल ओगटेका धनीमानीका हवेलीहरू देखिए सुन्दर–सुन्दर ।विस्तारै हामी नागबेली सडकलाई छाडेर सम्ममा ओर्लिसकेका थियौं। पश्चिमी शरहदमा पुग्नै लागेका घामको न्यानोले हामीलाई स्पर्श गरिरहे पनि भाइले एउटा सुन्दर पार्कमा गाडी बिसाए र हामी पार्कको रमणीयतालाई नियाल्नपट्टि लाग्यौं । पिङ र चाकाचुली,लुकामारी र यस्तै कस्तै अनेकौं खेल खेलिरहेका नानीहरू, फुटबल , क्रिकेट खेलिरहेका युवाहरू अनि पार्कको पूर्वपट्टिको केवल ६० वर्ष पार गरिसकेकाहरूलाई मात्रै प्रवेश अनुमति मिल्ने बार वा पप र वाइन अनि बियरको चुस्की लिइरहेका रैथाने वृद्धवृद्धाहरूको जमघट एकखालको रमाइलो लागिरहेको थियो मलाई ।
वास्तवमै यहाँका बुढाबुढीहरूलाई देख्दा मानवीय जीवन युवा र किशोरावस्था नै सुन्दर,जवकी यहाँको सरकारले उनीहरूका लागि यावत् पर्याप्त व्यवस्थापन मिलाएको छ तापनि त्यस्तै लाग्छ , छोराछोरी भनेर कति सहारिन्छ बाल्यकालमा तर बुढेसकालमा ऊ सहाराको लौरो बन्न सक्दैन मध्यम वर्गीय परिवारमा। मैले उच्च खानदानका मारियो वर्ग र उनका कान्छा छोरा उन्मरियो वर्गलाई पनि भेटेँ । उनीहरू हाईलेभलका सिडनीका घरानियाँ व्यापारी र उद्योगपति रहेछन् , उनीहरू संयुक्त परवारमा रहेछन्। पेशाको सिलसिलामा जेठा छोरा मात्र लण्डन बस्दा रहेछन्। प्रशस्तै धन भएपछिको प्रतिनिधित्व छोराछोरीहरूले नै गर्दारहेछन् पुस्तौली। मध्यम वर्गीय परिवारसित प्रशस्तै रुपैयाँ र धन नहुँदा कमायो खायो, घुम्यो, मोजमजा गर्यो केवल वृद्ध नहुँदै युवामा बुढेसकालमा त्यही पारा जीवन जहाँ पनि रुपैयाँ हुनेकै रमाइलो, त्यही भएर अकुत कमाउनेमा लागेका होलान् हाम्रा देशका २÷४ सय मानिस । औंलामा गन्न सकिनेहरू। अब घामले डाँडा काट्नै लागेकाले हामी घरतर्फ स्टेरिङ घुमाएर हुईँकियौैं । क्रमश…
नागरिक दैनिकबाट
प्रतिकृया