काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद टुङ्गिएको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिएसँगै आधिकारिकता विवाद टुङ्गिएको हो । आयोगले आज गरेको कार्यकारिणी सदस्यको हेड काउन्टबाट यस्तो निर्णय गरेको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्टमा यादव पक्षमा ३४ सदस्य, ठाकुर पक्षमा १६ र एक जना तटस्थ रहेका देखिए । ३४ कार्यकारिणीको हस्ताक्षर सहित यादव पक्षले आधिकारिकता प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । तटस्थ रहनेमा रेशम चौधरी छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी, सगुनशम्शेर जबरा र ईश्वरीप्रसाद पौड्यालसहितको ५ सदस्यीय इजलास गठन गरेको इजलासले यसतो निर्णय गरेको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको चैतमा विश्वासको मत दिने क्रममा सतहमा आएको जसपाको विवाद आज निर्वाचन आयोगमा आएर टुंगिएको हो । ठाकुर पक्षले ओलीलाई विश्वासको मत दिएका थिए भने यादव पक्षले विपक्षी गठबन्धनसँग मिलेर उनको विपक्षमा मत दिएका थिए ।
त्यसपछि दुबै पक्ष छुट्टाछुट्टै बैठक बस्न थालेका थिए । विवाद उत्कर्षमा पुगेपछि दुबै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवदेन दर्ता गराएका थिए ।
आयोगले दुबै पक्षलाई मेलमिलापको लागि आयोगमा बोलाउँदा दुबै पक्षले छुटिएर जाने निर्णय गरेका थिए । सोपछि आयोगले ५ सदस्यीय इजलास गठन गरेको थियो । इजलासले नै आज जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेको हो ।
प्रतिकृया