झापा। बिआरसी पथरी शनिश्चरे मोरङलाई टाईब्रेकरमा पाखा लगाउँदै शान्तिनगर एफसी सुनसरी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले टाईब्रेकरमा बिआरसी पथरी शनिश्चरेलाई ३–२ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शान्तिनगरले बाजि मारेको थियो । उसका लागि उमेश राई,एकराज बुढाथोकी र विजय भुजेलले गोल गरेका थिए । उसका कप्तान उमेश कार्की र दोर्जे तामाङ्गको प्रहार गोलकिपर चरी लिम्बुले बिफल बनाएका थिए । उता पराजित बिआरसी पथरी शनिश्चरेका तर्फबाट भने मिलन लिम्बु र कप्तान साइमन लिम्बुले मात्र गोल गर्न सके । उसका मौसम लिम्बु, अभिषेक लिम्बु र मिलन राई पेनाल्टीमा चुकेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर प्रविजय गच्छेदार घोषित भए । उनले नगद ५ हजार हात पारे । दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्नेछन् । शुक्रबार उपाधि दाबेदार टोली एभनिर एफसी क्यामरुन र भुट्नीज युथ क्बल बेलडाँगी आमनेसामने हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई ट्रष्टले गरेको हो ।
प्रतिकृया