शरणामती। झापाको झापा गाउँपालिका-६ शरणामतीमा जारी तेस्रो अध्यक्ष कप प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र दमक नगरपालिका भिड्ने भएका छन् । सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापाले भोजपुरको हतुवागडी गाउँपालिकालाई पराजित गरेसँगै उपाधिका लागि यी दुई टिम भिड्ने निश्चित भएको हो । पहिलो सेट २५-२२ ले गुमाएको झापाले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै २५-१८ को शानदार जित हात पारेको थियोे । त्यसपछि तेस्रो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको उसले चौथो सेट २५-२० ले जितेको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका रविन गौतम म्यान अफ द म्याच घोषित भए। उनले नगद एघार सय हात पारे । झापाले अब उपाधिका लागि मंगलबार उपाधि दाबेदार दमक नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दमकले सोमबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा विर्तामोड नगरपालिकालाई ३-१ को सेटमा पाखा लगाउँदै फाईनल यात्रा तय गरेको थियो । दमकले विर्तामोड नगरपालिकामाथी २५-१६, २५-२२, २२-२५ र २५-१५ को सेटमा जित हात पार्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको थियोे । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमकका पुकार तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद एघार सय हात पारे । पराजित विर्तामोड र हतुवागडीले नगद १० हजार हात पारेका छन् । सेमिफाइनलबाट बाहिरिएसँगै खेल संयोजक खगेन्द्र कुमार घिमिरेले विर्तामोड र हतुवागडीलाई सो रकम प्रदान गर्नु भएको हो । यस प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगिताको Khelkudtimes ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।
प्रतिकृया