काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । राष्ट्रपति भण्डारीमाथि गम्भीर आराेप लगाउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले बुधबार संयुक्त विज्ञप्ति निकालेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे गठबन्धनकाे बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सत्ता घटक राष्ट्रिय जनमाेर्चाले भने हस्ताक्षर गरेकाे छैन ।
विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएकाे छ । जनमाेर्चाकी उपाध्यक्ष एवं सांसद् दुर्गा पाैडेलले भने हस्ताक्षर गर्नुभएकाे छैन । उहाँले प्रतिनिधि सभामा पनि विधेयककाे विपक्षमा मतदान गर्नुभएकाे छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको उनीहरुकाे आराेप छ ।राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्काेतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेकाे जनतामा निहीत सार्वभाैमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य-मान्यतामा गम्भीर प्रहार बैठकले ठहर गर्दछ’-विज्ञप्तिमा लेखिएकाे छ ।
राष्ट्रपतिको कदम विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सबैलाई चार दलले आह्वान समेत गरेका छन् ।
प्रतिकृया