दमक। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्वार बन्न झापाबाट आवेदकको ओईरो लागेको छ ।
उमेदवार बन्न खुला आव्हान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा झापाबाट आवेदन दिनेको संख्या उच्च बनेको हो । प्रदेश सभा निर्वाचनमा भाग नलिने निर्णय गरेको सो पार्टीले प्रनितिधि सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार उठाउने जनाएको छ ।
त्यस्तै समानुपातिकतर्फका उमेदवारका लागि पनि सो पार्टीले खुला आव्हान गरेको छ । प्रत्यक्षतर्फ झापाका पाँच निर्वाचन क्षेत्रबाट उमेद्वार बन्न १९ जनाको आवेदन परेको छ ।
समानुपातिकतर्फ २० जनाको उमेदवारी परेको पार्टीका जिल्ला सभापति उमेश खरेलले जानकारी दिए । रास्वपाले समानुपातिकतर्फ भदौ २१ गते र प्रत्यक्षतर्फ असोज ७ गतेसम्म उमेदवारी लिने समय छुट्याएको छ ।
कस–कसले उमेद्वारी दिए भन्ने बिषय भने पछि सार्वजनिक गरिने उनले बताए । यद्यपी पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरुले उमेदवार बन्न आवेदन भरेका छन् । आवेदन दिएका अधिकांश व्यक्ति भने पार्टी समितिबाहिरका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १४ गते मात्र आफ्ना उमेदवार छनोट गर्ने गरी तालिका बनाएको छ । उमेदवार तय भएपछि मात्र सो पार्टीले चुनावी अभियानलाई तिब्रता दिने जनाएको छ ।
प्रतिकृया