झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप अन्तर पालिका प्रदेश एक भलिबल प्रतियोगितको आज सम्पन्न खेलमा जीत हात पार्दै दमक नगरपालिका, विर्तामोड नगरपालिका र आमचोक गाउँपालिका भोजपुर प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।
दमकले उपाधि दाबेदार मानिएको षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । दमकले षडानन्दलाई २५–१४, २५–२२, १०–२५ र २६–२४ को सेटमा पराजित गरेको थियो ।
सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमकका प्रकाश लिम्बु म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोश्रो खेलमा विर्तामोड नगरपालिका झापाले झापाकै भद्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।
उसले भद्रपुरमाथी २२–२५,२५–१७, २०–२५, २५–१३ र १५–११ जित हात पारेको थियो । सो खेलमा विर्तामोडका विमान खड्का म्यान अफ दि म्याच घोषित भए । त्यस्तै अन्तिम क्वाटरफाईनलमा झापाको कमल गाउँपालिकामाथी जित हात पार्दै भोजपुरको आमचोक गाउँपालिका सेमिफाईनलमा प्रबेश गर्यो ।
उसले कमललाई २३–२५, २५–२०, २५–२० र २५–२१ ले पराजित गरेको थियो । खेलको म्यान अफ दि म्याच पराजित कमल गाउँपालिकाका कप्तान सुमन राना मगर घोषित भए । शुक्रबार पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै दोश्रो सेमिफाइनलमा आयोजक झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछ ।
त्यस्तै सेमिफाइनलबाट बाहिरीने टोलीले पन्ध्र–पन्ध्र हजार प्राप्त गर्नेछन् । जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ ।
प्रतिकृया