शरणामती । आयोजक झापा गाउँपालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। झापाको झापा गाउँपालिका-६ शरणामतीमा जारी प्रतियोगिताको आज सम्पन्न खेलमा इलामको चुलाचुली गाउँपालिकालाई पराजित गर्दै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।उसले चुलाचुलीलाई २५–१३, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो । खेलको म्यान अफ दि म्याच झापाका रोशन शिवाकोटी घोषित भए।
त्यस्तै आजै सम्पन्न अन्य खेलमा आमचोक गाउँपालिका र भद्रपुर नगरपालिका विजयी भएका छन् ।
आमचोकले आज सम्पन्न पहिलो खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई २५–१७, २५–१३ र २५–१५ ले पाखा लगायो । शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको उसले सहज जित हात पारेको हो।
सो खेलमा आमचोकका रोमन बस्नेत म्यान अफ दि म्याच घोषित भए। त्यस्तै दोश्रो खेलमा भद्रपुर नगरपालिकाले टेम्के मैयुङ्ग गाउँपालिका भोजपुर लाई २५–१७, २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।
सो खेलमा भद्रपुरका भरत यादव म्यान अफ दि म्याच घोषित भए। जितसँगै आमचोक र भद्रपुर प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा बिहीबार पनि तीन खेल हुनेछन् । पहिलो खेलमा दमक नगरपालिका र षडानन्द नगरपालिका भोजपुर आमनेसामने हुँदा दोश्रो खेलमा विर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका तथा तेश्रो खेलमा आमचोक गाउँपालिका भोजपुर र कमल गाउँपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् । जनता माविको खेल मैदानमा भइरहेको सो प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगितामा एक नम्बर प्रदेशका १६ टिमको सहभागिता रहेको छ ।
प्रतिकृया