काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको पुष्टि भएको। भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन भेटिएको पुष्टि भएको हो ।
यता स्वास्थ्य मन्त्रालयका अनुसार यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिएको छ । देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो ।
मन्त्रालयका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ । यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो ।
यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक रहेको र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।
नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन । नेपालबहसबाट
प्रतिकृया