अक्कल कुँवर,
काठमाडौं। शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै नेपाली कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
कार्यतालिका पारितसंगै दौडधुपको सुरुवात सभापति शेरवहादुर देउवाले गर्नुभएको छ । शनिबार प्रदेश १ र २ का संस्थापन पक्षीय नेताहरुसंग छलफल गर्नुभएका सभापति देउवाले आइतबार बाग्मती र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गर्नुभएको छ ।
संवैधानिक बाध्यताका कारण भदौमा महाधिवेशन गर्नैपर्ने भएपछि कांग्रेसमा नेतृत्वका आकांक्षीहरुले आन्तरिक दौडधुपलाई तिव्रता दिएका छन् ।
दौडधुपको अग्रपङ्तीमा पार्टी सभापति शेरवहादुर देउवा देखिएका छन । भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिबाट पारित भएलगत्तै नेतृत्वमा दोहोरिने दौड सुरु गरेका सभापति देउवाले संस्थापन पक्षीय केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुसंग प्रदेशगत छलफल सुरु गरेका हुन् ।
सभापति देउवासहित अन्य आकांक्षीले नेतृत्वको लागि गृहकार्य सुरु गर्नु महाधिवेशन हुने संकेतको रुपमा बुझ्नुपर्ने बताउनुहुन्छ कांग्रेस नेता लोकेश ढकाल ।
आसन्न महाधिवेशनमा आफु पुनःसभापतिको उम्मेद्वार हुने भन्दै सहयोग गर्न आग्रह गरेका देउवाले संस्थापन पक्षीय नेताहरुलाई आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताउन निर्देशन समेत दिएका छन् ।
पार्टीलाई कमजोर बनाएको र संसदमा विपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना खेपिरहेका देउवाको पुनःनेतृत्वमा दोहोरिने आकांक्षाप्रति उनी पक्षकै कतिपय नेताले विमति देखाएका छन् । तर, नेता ढकाल नेतृत्वमा दाहोरिने सभापति देउवाको आकांक्षालाई स्वभाविक ठान्नुहुन्छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका अन्य आकांक्षीहरु पनि आन्तरिक गृहकार्यमा जुटेका छन् । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन आकांक्षीले नेतृत्वको लागि तयारी गरिरहेका छन् ।
संस्थापन इतर पक्षबाट देउवाको प्रतिस्पर्धी को हुन्छ भन्ने निश्चित नभईसकेपनि यसपटक सभापति देउवालाई आफ्नै पक्षका निधिवाट चुनौती देखिएको छ । नेता ढकाल सभापति देउवालाई पुनः नेतृत्वमा पुग्न सहज नभएको जिकिर गर्नुहुन्छ ।
२०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा कांग्रेसको नेतृत्वमा पुगेका थिए । नेतृत्वको लागि आकांक्षीहरुले तिव्र तयारी सुरु गरेपनि कोरोना महामारी,बाढीपहिरो र राष्ट्रिय राजनीतिमा देखापरेको संकट भदौमा महाधिवेशन गराउन कांग्रेसलाई निकै चुनौतीपूर्ण देखिन्छ ।
इमेजखबरबाट
प्रतिकृया