राम निरौला, कनकाई। झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर २ ले विजयी शुरुवात गरेको छ।
उसले वडा नं.४ लाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । उसले खेलको १७ औं मिनटमा रोशन दर्जीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।
त्यसपछि पनि खेलको २९ औं मिनटमा रोशन दर्जीले प्रहार गरेको सशक्त प्रहारले विपक्षीको जाली चुमेपछि खेल २-० गोलको अन्तरमा वडा नं.२ ले जित हात पारेको खेल आयोजक समितिका संयोजक गोविन्द उप्रेतीले बताउनुभयो।
खेलको म्यान अफ दि म्याच विजयी टिमका गोल कर्ता रोशन दर्जी घोषित भए । दर्जीलाई खेल संयोजक उप्रेतीले म्यान अफ दि म्याचको पुरस्कार हस्तान्तरण गर्नु भयो।
प्रतियोगिताको तेस्रो दिन भोली (मंगलबार) कनकाईको वडा नं.५ र वडा नं.६ विच प्रतिस्पर्धा हुने खेल आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद छ ।
यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५-५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिनुभयो। असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाको सहभागिता रहेको छ ।
आजको फुटवल प्रतियोगिता उद्घाटन हुनुुुअघि फिफाका पूर्व रेफ्री लब खत्रीको असामयीक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै एक मिनट मौन धारण गरिएको थियो ।
प्रतिकृया