मदन राजबंशी, गौरीगञ्ज । शिक्षा ऐन र नियमावली अनुसार बिद्यालयहरुमा कुनैपनि राजनैतिक दलहरुको कार्यक्रम गर्न पाईदैन । तर झापाको गौरीगञ्ज गाउँपालिकामा शिक्षा ऐन र नियमावलीको धज्जी उडाउँदै बिद्यार्थीहरुको पढाई रोकेर तीन वटा बिद्यालयहरुमा आईतबार नेपाली काँग्रेसको वडाधिवेशन गरिएको छ ।
वडा नम्बर ३ को गौरीगञ्ज माबि, वडा नम्बर ४ को सरस्वती प्राबि र वडा नम्बर ६ को खजुरगाछी माबिमा बिद्यार्थीहरुको पढाई नै बन्द गरि काँग्रेसको वडाधिवेशनको चुनाब गरिएको हो । काँग्रेसको वडाधिवेशनका कारण यी तिन ओटा बिद्यालयहरुको पठनपाठन आईतबार दिनभरि ठप्प भयो ।
कोरोना कहर र लकडाउनका कारण लामो समय देखि बन्द रहेका गौरीगञ्जका बिद्यालयहरु यस क्षेत्रमा सँक्रमणदर कम भएपछी भदौ १ गते देखि आलोपालो प्रणालीमा पठनपाठन शुरु गरि संचालन गरिदै आएको थियो । लामो समयदेखि बन्द रहेको पढाई शुरु हुँदा अभिभावकहरुले राहत महसुस् गरेका थिए ।
तर कोरोनाका कारण थिलथिलो भएको शिक्षा र बल्ल खुलेको बिद्यालयमा पढाई नै बन्द गरि राजनैतिक दलको चुनाव गरिदा अभिभावकहरुले गुनासो गरेकाछन् । बिद्यालय बन्द गरी कुनै एक राजनीतिक दलको कार्यक्रम गर्न मिल्छ र भन्दै एक अभिभावकले फोन गरि प्रश्न समेत गरेका छन् ।
शिक्षा ऐन विपरित बिद्यालय बन्द गरि राजनैतिक दललाई कार्यक्रम गर्न दिन मिल्छ र ? भन्ने प्रश्न मा गौरीगञ्ज माबिका प्रधानाध्यापक गोबिन्द घिमिरेले गौरीगञ्ज शिक्षा समितिले नै पत्राचार गरि एक दिन कार्यक्रम गर्नदिन भनेकाले कार्यक्रम गर्न दिएको बताए ।
तर, यसबारे शिक्षा शाखालाई जानकारी नै नभएको कुरा शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुशिल दाहालले बताए । शिक्षा समिति शिक्षा शाखा अन्तर्गत कै समिति हो तर त्यसरी बिद्यालयलाई पत्राचार गरेको कुरा आफुलाई जानकारी नभएको उनले बताए ।
उनले विद्यालयहरुमा काँग्रेस को चुनाव हुदैछ भन्ने कुरा नै आफुलाई थाहा नभएको र एक जना ४ नम्बर वडाका अभिभावकले बिद्यालय बन्द गरि पार्टीको चुनाब गरिरहेको गुनासो गर्दा बल्ल सो कुरा थाहा पाएको पनि प्रतिकृया दिएकाछन् ।
उता खजुरगाछी माबिका प्रधानाध्यापक गजेन्द्र बिक्रम साहले आफुहरुले बिद्यालय ब्यवस्थापन समिति र शिक्षा समिति लाई जानकारी गराएर बिद्यालयमा कार्यक्रम गर्न दिएको कुरा बताएका छन् तर उनले शिक्षा समितिबाट कुनै किसिमको पत्राचार नभएको बताएका छन् ।
यसबारे जिल्ला शिक्षा समन्वय कार्यालय झापाका प्रमुख राजकुमार विश्वकर्माले बिद्यालय पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा भइसकेकाले शैक्षिक कृयाकलाप बाहेक कुनैपनि राजनैतिक दलको कार्यक्रम गर्न नपाईने बताएका छन् । अहिले सम्पुर्ण अधिकार स्थानीय तहलाईनै दिइएकाले यस्ता कृयाकलाप स्थानिय सरकारले रोक्नु पर्ने उनको भनाई छ ।
तर बिडम्बना के छ भने गौरीगञ्जको शिक्षा समितिका सँयोजक दिपेन्द्र थापा स्वयं यस पार्टीको निर्वाचनमा उम्मेद्वार बनेकाछन् । शिक्षा समितिले गत बर्ष देखि नै कोरोनाको कारण देखाएर शिक्षा ऐन र नियमावली विपरित बिद्यालय ब्यवस्थापन समितिहरुमा वडाध्यक्षहरु सँयोजक बनाएका छन् ।
सोहि हैसियतले गौरीगञ्ज माबिको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मखना महतो र खजुरगाछी माबिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बद्री नारायण यादव छन् । दुबै जना नेपाली काँग्रेसको वडाअधिवेसनका उम्मेदवार हुन् ।
यसअघि केहि महिना अघि गौरीगञ्ज ४ स्थित सरस्वती प्राविको पठनपाठन बन्द गरी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो बिद्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा समिति गठन गरेका थिए ।
स्थानिय सरकारमा आफु बसेको बेला जनप्रतिनिधिहरुले ऐन र नियमावली विपरित बिद्यालयहरुमा गरिरहेको मनोमानीले गौरीगञ्जको शैक्षिक क्षेत्रको भविष्य अन्यौल बन्दै गएको छ भने आफु सरकारमा भएको बेला आफु निकटको राजनैतिक दललाई बिद्यालय नै बन्द गरि कार्यक्रम गर्न दिएर गलत नजिर समेत बसाउन खोजेका छन् ।
यहि नजिरलाई टेकेर भोलिका दिनमा सबै राजनैतिक दलको कार्यक्रम गर्ने अखडा बिद्यालय हरुलाई बनाइए गौरीगञ्जको शिक्षा क्षेत्र के होला ? जनप्रतिनिधि हरुले यसतर्फ बेलैमा बिचार गर्ने की ?
प्रतिकृया